भारत र पाकिस्तानबीच शनिबार युद्धविराम घोषणा भएसँगै स्थगित भएको आइपिएल २०२५ पुनः सुरु गर्ने प्रक्रिया भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले सुरु गरेको छ ।
बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले पीटीआईसँग कुरा गर्दै युद्धविरामपछि आइतबार बोर्डका पदाधिकारी र आइपिएल सञ्चालक परिषदबीच छलफल हुने जानकारी दिए ।
बीसीसीआईले सिजन पुनः सुरु गर्न सरकारको अनुमति लिने तयारी गरिरहेको छ। क्रिकइन्फोका अनुसार मे १५ तिर आइपिएल पुनः सञ्चालन हुने सम्भावना छ ।
पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच मे ८ मा धर्मशालामा भएको खेल युद्ध तनावका कारण पहिलो इनिङमै रद्द गरिएको थियो ।
आइपिएलका बाँकी खेलहरू दक्षिण भारतका तीन सहर– चेन्नई, बेंगलुरु र हैदराबादमा सञ्चालन गर्ने तयारी छ। सिजनमा अहिलेसम्म ५७ खेल सम्पन्न भइसकेका छन् भने १२ लिग र ४ प्लेअफ खेल बाँकी छन् ।
प्लेअफ दौडमा सात टोली छन्, जबकि चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
हालको चुनौती भनेको युद्धका कारण स्वदेश फर्किएका विदेशी खेलाडी तथा स्टाफलाई पुनः भारत फर्काउने रहेको छ। केही टोलीहरूले खेलाडीलाई तयार रहन आग्रह गरिसकेका छन् ।
जुन ११ मा लर्ड्समा हुने अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको विश्व टेस्ट च्याम्पियनशिप फाइनलअघि नै आइपिएल सक्नुपर्ने दबाब पनि रहेको छ ।