काठमाडौं । पाकिस्तानसँगको युद्धविरामपछि भारतले सबै विमानस्थल सञ्चालनमा ल्याएको छ । भारत–पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण मे ७ देखि १५ सम्म भारतका ३२ वटा विमानस्थलमा उडान सेवा बन्द गरिएको थियो ।
भारतीय विमानस्थल प्राधिकरणले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द गरिएका ती विमानस्थलहरू आजदेखि पुनः सञ्चालनमा आएको जानकारी दिएको हो ।
विज्ञप्तिमा यात्रुहरूलाई उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न र अपडेटका लागि एयरलाइन्सको वेबसाइट हेर्न सुझाव दिइएको छ ।
हवाई सेवा पूर्णरूपमा सामान्य हुन केही समय लाग्न सक्ने जनाउँदै, एयरलाइन्सहरूले यात्रुहरूलाई विमानस्थल पुग्नका लागि केही अतिरिक्त समय राख्न आग्रह गरेका छन् ।