बङ्गलादेश । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले नेपालसँग जलविद्युत् क्षेत्रमा दरिलो सहकार्य आवश्यक भएको बताएका छन् ।
ढाकामा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानासँग भएको भेटमा उनले बङ्गलादेश, नेपाल, भुटान र भारतको उत्तरपूर्वी सात राज्यबीच जलविद्युत्, स्वास्थ्य सेवा र सडक पूर्वाधारमा अन्तरदेशीय सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
उनले भने, ‘‘बङ्गलादेश, नेपाल, भूटान र भारतको उत्तरपूर्वी राज्यबीच एकीकृत आर्थिक योजना आवश्यक छ । यसले साझा रुपमा ठूला फाइदा लिन सकिन्छ ।’’
प्राध्यापक युनुसले नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् भारतीय ग्रीडमार्फत ल्याउने त्रिपक्षीय सहमतिको सन्दर्भमा थप सहकार्यको सम्भावना रहेको बताए । साथै उनले बङ्गलादेशले स्वास्थ्य सेवाको पहुँच विस्तारमा लागिरहेको र रङ्गपुरमा निर्माणाधीन एक हजार शय्याको अस्पताल नेपाली र भुटानी नागरिकलाई पनि लक्षित रहेको बताए ।
उपसभामुख इन्दिरा रानाले नेपाल विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न इच्छुक रहेको बताउँदै बङ्गलादेशका मेडिकल कलेजहरूमा २,७०० भन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको जनाइन् । उनले शैक्षिक सहकार्यको सम्भावना औँल्याउँदै आपसी सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
भेटवार्तामा दुई देशबीच भौतिक पूर्वाधार र सडक सञ्जाल विस्तारबारे पनि छलफल भएको थियो । प्रमुख सल्लाहकार युनुसले नेपालले सडक सञ्जाल विस्तारबाट उल्लेख्य व्यापारिक लाभ लिन सक्ने बताए ।
भेटमा बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारी, युनुसका कार्यक्रम संयोजक लामिया मोरसेद, तथा बङ्गलादेश परराष्ट्र मन्त्रालयका महाप्रबन्धक इस्रात जहानलगायतको उपस्थिति थियो ।