प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख गरिएको कुलिङ पिरियड (Cooling Period) को प्रावधान यथावत् राखिने स्पष्ट पारेका छन् ।
बिहीबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले विधेयक लामो छलफल र विज्ञहरूसँगको परामर्शपछि पारित गरिएको उल्लेख गर्दै अब उक्त प्रावधान संशोधन गर्न नसकिने बताएका हुन् ।
"निजामती सेवाबाट बाहिरिएको भोलिपल्टै अर्को संवैधानिक वा सार्वजनिक निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व देखिन्छ ।
त्यसैले यस्तो प्रावधान ल्याइएको हो," खतिवडाले भने, "यस्ता प्रावधान अन्तर्राष्ट्रिय अभ्यासमै पनि पाइन्छ ।"सभापति खतिवडाले कुलिङ पिरियडको व्यवस्था कर्मचारीमाथिको अविश्वास नभएको स्पष्ट गर्दै, मुख्यसचिवलगायत सचिवहरूको अस्वाभाविक चासोप्रति पनि टिप्पणी गरे ।
"प्रशासन प्रमुखहरूलाई अस्वाभाविक चासो देखिएको छ, तर समितिले विधेयक पारित गरिसकेको छ। अब छिट्टै सदनमा पेश गर्ने तयारी भइरहेको छ," उनले भने । उनले समितिबाट पारित विधेयकलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नभएको दाबीसमेत गरे ।