बाराको कलैयास्थित सिद्वेश्वर खेल मैदानमा जारी मधेश प्रदेश क्रिकेट लिग अन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेलमा सप्तरीले धनुषालाई ३ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।
धनुषाले दिएको ९९ रनको लक्ष्य सप्तरीले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । सप्तरीका ब्याटर राहुल बिकले ३१ बलमा ४ चौका र ४ छक्का प्रहार गर्दै ४८ रनको नटआउट पारी खेलेका थिए । उनको विस्फोटक ब्याटिङकै कारण सप्तरीले अन्तिम ओभरमा जित निकाल्न सफल भयो ।
सप्तरीका लागि सुरुवात कमजोर रहेको थियो। पहिलो ओभरमै रोहन बिक आउट भएपछि टिम दबाबमा आएको थियो । अभिषेक कार्की, भोला साह, पप्पु यादव, नितेश यादवसहित पाँच जना ब्याटरले दोहोरो अंक पार गर्न सकेनन्। कप्तान अमित यादवले ११ रन बनाए भने वसन्त यादवले ४ रन बनाएर नटआउट रहे ।
बलिङतर्फ धनुषाका रनरूप यादव र अबजित मण्डलले समान २/२ विकेट लिए। विकास सुशलिङ, अखिलेश ठाकुर र विक्रान्त यादवले १/१ विकेट झारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनुषाले २० ओभरमा ९ विकेट गुमाउँदै ९८ रन बनाएको थियो। धनुषाका लागि अखिलेश ठाकुरले २३ रन र हिमान्सु दत्तले २१ रन बनाए। सप्तरीका नितेश यादवले ३ विकेट, पप्पु यादवले २ विकेट तथा अजय यादव र विकास दासले १/१ विकेट लिए ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका सप्तरीका राहुल बिक 'प्लेयर अफ द म्याच' घोषित भए ।
मधेश प्रदेश क्रिकेट संघका सचिव आयुष श्रेष्ठका अनुसार जेठ १५ गते बाराको वीरगञ्जमा बारा र सप्तरीबीच फाइनल खेल हुनेछ ।