आन्तरिक राजस्व कार्यालय, नेपालगञ्जमा दर्ता भएका २ हजार २ सय मूल्यअभिवृद्धि करदाता निलम्बनमा परेका छन् ।
लगातार छ महिनासम्म कर विवरण नबुझाएका कारण उनीहरूको दर्ता र कारोबार दुवै रोक्का गरिएको हो । कार्यालयका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार, कर विवरण बुझाउन सम्बन्धित करदातालाई पटक–पटक आग्रह गरिए पनि उपेक्षा गरेकोले कानुन अनुसार कारबाही गरिएको हो । उनका अनुसार, “विवरण नबुझाएकालाई निलम्बन गरिएको छ र संस्थाको कारोबार पनि रोकिएको छ ।”
बाँके जिल्लामा ८ हजारभन्दा बढी करदाता मूल्यअभिवृद्धि कर (VAT) प्रणालीमा दर्ता छन्। तर तीमध्ये केही करदाताले जानाजान वा लापरवाहीले कर विवरण नबुझाउँदा यस्तो अवस्था आएको बताइएको छ । प्रमुख न्यौपानेले भने, “पहिले कानुन अस्पष्ट हुँदा कारबाही गर्न कठिनाइ थियो, तर अब ऐन र नियम स्पष्ट छन्, त्यसैले निरन्तर कारबाही गरिनेछ ।”उनका अनुसार, निलम्बनमा परेका फार्मसँग कारोबार गरेमा अन्य व्यापारी वा सेवाग्राही पनि कानुनी जोखिममा पर्न सक्ने बताइएको छ ।
मूल्यअभिवृद्धि कर ऐन, २०५२ को दफा १७ को उपदफा ८ बमोजिम, लगातार ६ महिना कर विवरण नबुझाउने करदाताको नाम सार्वजनिक गरी करकट्टी रोक्का राखिने र VAT दर्ता निलम्बन गरिने व्यवस्था छ।कर प्रशासनले करदातालाई समयमै विवरण बुझाउन पुनः आग्रह गर्दै अब यस्ता कारबाहीलाई नियमित बनाइने चेतावनी दिएको छ ।