उपचारमा लापरबाही गरेकाे ठहर गर्दै उपभोक्ता अदालतले ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।
हरिहरप्रसाद गौतमको उपचारमा लापरबाही भएको आरोपमा उनका छोरा बसन्त गौतमले दायर गरेको मुद्दामा अदालतले अस्पताल र संलग्न चिकित्सकहरूलाई क्षतिपूर्ति भराउने आदेश दिएको हो । उपभोक्ता अदालतको रामप्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला सुनाएको अदालतका स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए ।
उनका अनुसार, बसन्त गौतमले अस्पतालविरुद्ध ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गर्दै दायर गरेको मुद्दामा अदालतले ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपूर्ति भराउने आदेश दिएको हो । त्यसअनुसार ॐ अस्पताललाई ८० प्रतिशत अर्थात् ५० लाख ७० हजार रुपैयाँ र उपचारमा संलग्न दुई चिकित्सकलाई जनही ३ लाख ५ हजारका दरले बाँडफाँड हुने गरी २० प्रतिशत क्षतिपूर्ति तिर्न आदेश गरिएको छ ।
बसन्त गौतमले ९८ वर्षीय आफ्ना बुबा हरिहरप्रसाद गौतमको उपचारमा लापरबाही भएको भन्दै उपभोक्ता अदालतमा उजुरी दर्ता गराएका थिए । उजुरीका अनुसार २०८१ माघ ५ गते बाथरुममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा पुगेका गौतमलाई चाबहिलस्थित ॐ अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।
तर अस्पतालले सामान्य चेकजाँच र एक्सरे पश्चात ‘खासै केही नभएको’ भन्दै दुखाइ कम गर्ने इन्जेक्सन र केही औषधि दिई डिस्चार्ज गरेको थियो । तर चार दिनपछि पनि स्वास्थ्यमा सुधार नआएपछि उनीहरू अर्को निजी अस्पतालमा गएका थिए, जहाँ खुट्टा फ्याक्चर भएको पुष्टि भएको उजुरीमा उल्लेख छ । उपचारमा लापरवाहीका कारण थप स्वास्थ्य जटिलता उत्पन्न भई पछि उनकाे मृत्यु भएको भन्दै उनले क्षतिपूर्तिका लागि मुद्दा हालेका थिए a।
अदालतको यो फैसला उपभोक्ताको स्वास्थ्यसम्बन्धी हक संरक्षणप्रति गम्भीर रुपमा अघि बढ्नुपर्ने सन्देशको रूपमा लिइएको छ ।