बिहारमा आगामी विधानसभा चुनाव नजिकिंदै गर्दा एनडीए गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा रस्साकसी सुरु भएको छ ।
मौसमको गर्मी सँगै एनडीएभित्र सिटको आकांक्षा राख्ने नेताहरूको सक्रियता समेत बढेको छ । कुनै ठूलो नेताको नाम चर्चामा आउनासाथ उनीहरू दौडधुपमा लाग्ने क्रम तीव्र देखिएको छ । हालसम्म सिट बाँडफाँटका विषयमा औपचारिक रूपमा गठबन्धनभित्र छलफल सुरु भएको छैन, तर सबै घटक दलहरूले आ–आफ्नो तयारी सुरु गरिसकेका छन् । जेडीयू, भाजपा, एचएएम, एलजेपी (रामविलास) र आरएलएसपीजस्ता घटक दलहरूले आ–आफ्नो सम्भावित सिटको विवरण तयार पारेर जिल्ला तहसम्म छलफलमा लगिसकेका छन् ।
एनडीएभित्रको सिट बाँडफाँटसम्बन्धी परामर्श बैठक यो वर्ष दिल्लीमा नभई पटना सहरमै हुने तयारी गरिएको छ । नेताहरूको पहुँच र सुविधालाई ध्यानमा राख्दै परामर्शको तालिका तय गरिने बताइएको छ । अगस्टको दोस्रो साता बैठक प्रक्रिया सुरु हुने र सबै नेताहरू पटना आउने तयारीमा रहेको जानकारी प्राप्त भएको छ ।
एनडीएभित्र सिट बाँडफाँटका लागि अहिलेसम्म कुनै अधिकारिक सूत्र तय भइसकेको छैन । यद्यपि गठबन्धनका नेताहरूले सिट बाँडफाँटमा खासै समस्या नरहेको भन्दै आन्तरिक समन्वयको प्रयास जारी रहेको बताएका छन् । जेडीयू र भाजपा एनडीएभित्रका प्रमुख दल हुन् र स्वभाविक रूपमा यी दुवै दलले धेरै सिटमा चुनाव लड्ने तयारी गरिरहेका छन् । यी दलहरूले क्रमशः १०५ देखि ११० सिटसम्ममा दाबी गर्न सक्ने अनुमान गरिएको छ भने केही सिट साटफेरसमेत हुन सक्ने सम्भावना छ ।
एनडीएमा समावेश सबै दलहरूले आ–आफ्ना सिट आकांक्षाको आधारमा प्रतिवेदन तयार पारिसकेका छन् र अब शीर्ष नेताहरूको बैठकबाट अन्तिम टुंगो लगाइनेछ । आगामी एक महिनाभित्र हुने विभिन्न बैठकहरूमा बुथ स्तरको समन्वय, मत स्थानान्तरण रणनीति र साझा अभियानबारे छलफल हुने बताइएको छ ।
बिहार विधानसभा चुनावमा एनडीए कुन अनुहार र कुन तालमेलसहित प्रस्तुत हुनेछ भन्ने चासो चुलिँदै गएको छ । सिट बाँडफाँटको अन्तिम मोडेल पटनामा हुने बैठकबाटै तय हुने स्पष्ट संकेत मिलेको छ ।