राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अबदेखि वीरगंज महानगरपालिका कार्यालयमा हुने छैन ।
जिल्ला प्रशासन कार्यालय (जिप्रका), पर्साले आगामी असार १ गतेदेखि राष्ट्रिय परिचयपत्र (रापप) विवरण दर्ता नहुने जनाएकाे छ । वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रक्रियामा कर्मचारीहरूले सेवाग्राहीसँग घुस लिने गरेकाे गुनासाे गरेपछि सेवा स्थगित गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
जिप्रकाका प्रशासकीय अधिकृत दीपक पटेलका अनुसार, महानगरमा सेवाग्राहीलाई समस्या देखिएकाले सो व्यवस्था गरिएको हो । यसअघि वीरगंज महानगर, पोखरिया नगरपालिका र सुपौलीस्थित इलाका प्रशासन कार्यालयमार्फत विवरण दर्ता गरिँदै आएको थियो । अब वीरगंज महानगरलाई मात्र हटाइएको छ भने अन्य दुई स्थान यथावत् राखिएको छ ।
अब महानगर क्षेत्रका ३२ वटै वडाका बासिन्दाहरूलाई जिप्रका, पर्सामा पुगेर विवरण दर्ता गराउनु पर्नेछ । जिप्रकाले चारवटा स्थानमार्फत विवरण दर्ता गर्न थालेपनि भीड कम भएको थिएन । अब महानगर हटाइएपछि जिप्रकामा चाप झन् बढ्ने निश्चित देखिन्छ ।
सेवाग्राहीलाई सहज बनाउन decentralize गरिएको व्यवस्था उल्टै गाभिँदा स्थानीय नागरिक थप सास्तीमा पर्नेछन् । कतिपयले "घूस लिने कर्मचारी हटाउने कि सेवा बन्द गर्ने ?" भन्ने प्रश्न उठाएका छन् ।