इरानले इजरायलको एउटा अस्पतालमा मिसाइल आक्रमण गरेको आरोप इजरायली पक्षले लगाएको छ ।
इजरायली सेनाका अनुसार अस्पतालमा ठूलो क्षति पुगेको छ भने कम्तीमा ३२ जना घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै सो आक्रमणको कडा निन्दा गरेका छन् । उनले लेखेका छन्, ‘‘आज बिहानै इरानको आतंकवादी तानाशाही शासनले बेर्शेबास्थित सोरोका अस्पताल र नागरिक क्षेत्रलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ ।’’
प्रधानमन्त्री नेतान्याहुले इरानी शासकहरूले यसको पूर्ण मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । उनका अनुसार आक्रमणको निशानामा स्पष्ट रूपमा नागरिक क्षेत्र र अस्पताल परेका थिए ।
इजरायलको आपतकालीन सेवासंस्था म्यागेन डेभिड एडोम (MDA) का अनुसार आक्रमणमा परी घाइते भएका ३२ जनाको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
इजरायली सैन्य अधिकारीहरूका अनुसार इरानले हालैका दिनमा दर्जनौं मिसाइल प्रहार गरेको छ, जसमा अधिकांश नागरिक क्षेत्र लक्षित गरिएको बताइएको छ । इजरायलले यस आक्रमणलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लंघनका रूपमा लिएको छ ।