काठमाडौँ उपत्यकाको अत्यन्त व्यस्त चोक मानिने ललितपुरस्थित ग्वार्को चोकमा निर्माण गरिएको बहुप्रतिक्षित ओभरपास ९फ्लाइओभर० आज प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा औपचारिक रूपमा उद्घाटन गरिएको छ ।
पटक–पटक म्याद थप्दै निर्माण सम्पन्न भएको यो ओभरपास सञ्चालनमा आएसँगै सर्वसाधारणले लामो समयदेखि झेल्दै आएको ट्राफिक जामबाट राहत पाउने विश्वास गरिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले उक्त आयोजना निर्माणको जिम्मा लिएको थियो ।
म्याद थपिँदै सम्पन्न
२०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीसँग गरिएको ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र अर्थात् २०८० फागुन ११ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर, प्राविधिक र भौगोलिक समस्याका कारण म्याद दुई पटक थपिँदै अन्ततः २०८१ पुस ८ गते निर्माण कार्य सम्पन्न गरिएको हो ।
निर्माणमा ढिलाइ भएकाले ठेकेदार कम्पनीलाई करिब १ करोड ४७ लाख रुपैयाँ हर्जाना समेत तिराइएको केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिए ।
प्राविधिक चुनौती र समाधान
भण्डारीका अनुसार प्रारम्भिक डिजाइनमा आवश्यक संशोधन गर्नु परेको, जमिनमुनिको माटोमा अपेक्षित सुधार गर्नुपर्ने, अप्रोच सडकमा माटोको असमान थिचाइ जस्ता कारणले निर्माणमा ढिलाइ भएको हो ।
विशेष गरी सातदोबाटोतर्फको प्यानल–४ र प्यानल–५ बीचको अन्तराल असमान हुँदा ती प्यानल पुनः खोलेर सन्तुलनसहित जडान गर्नुपरेको थियो ।
ओभरपासको विवरण
ग्वार्को ओभरपासको कुल लम्बाइ ५७६।२ मिटर रहेको छ । यसमा ग्वार्को चोकदेखि लगनखेलतर्फ ३२० मिटर, सातदोबाटोतर्फ १८५ मिटर र पुलको बीच भाग ३६।२ मिटर लम्बाइ रहेको छ ।
पुलको चौडाइ १६।४ मिटर छ भने चार लेनको सडक सञ्चालन हुने गरी डिजाइन गरिएको छ । र्याम्पको अधिकतम दूरी १०।२ मिटर रहेको छ ।
लागतमा ठूलो वृद्धि
सुरूमा १७ करोड ६ लाख रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता गरिएको भए पनि विभिन्न प्राविधिक र निर्माणसम्बन्धी समस्याका कारण अन्तिम लागत करिब ३१ करोड ४६ लाख पुगेको छ ।
‘इपिसी प्रणाली’अनुसार भएको यो परियोजनामा डिजाइन र निर्माण दुवै जिम्मेवारी निर्माण व्यवसायीकै भएको हो । भण्डारीका अनुसार निर्माणपछिका पाँच वर्षसम्म निर्माण र १० वर्षसम्म डिजाइनको त्रुटि भएमा निर्माण व्यवसायीले नै सुधार गर्नु पर्नेछ ।