इरानका आणविक साइटमा आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनता समक्ष ह्वाइट हाउसबाट सम्बोधन गरेका छन् ।
करिब तीन मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले इरानमाथिको आक्रमणलाई “अद्भुत सैन्य सफलता” भन्दै अमेरिकी सेनाको प्रशंसा गरे । उनले अमेरिकी हमलाबाट इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गर्दै भने, “इरानले अब शान्तिको मार्ग रोज्नैपर्छ, नत्र परिणाम झन् भयावह हुनेछ ।”
ट्रम्पले चेतावनी दिँदै भने, “हामीसँग अझ धेरै लक्ष्यहरू बाँकी छन् । यदि चाँडै शान्ति कायम भएन भने ती लक्ष्यहरूलाई तीव्र, सटीक र दक्षताका साथ आक्रमण गरिनेछ ।”
उनले इरानको वर्तमान अवस्था अस्वीकार्य भएको उल्लेख गर्दै भने, “अब या त शान्ति हुनेछ, या इरानले यस्तो विपत्ती बेहोर्नेछ जुन पछिल्ला आठ दिनमा देखिएका भन्दा धेरै गम्भीर हुनेछ ।”
राष्ट्रपति ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई संयुक्त सैन्य प्रयासका लागि धन्यवाद र बधाई पनि दिए । “अमेरिका र इजरायल एउटै टोलीका रूपमा काम गरे, र इजरायलमाथिको खतरा हटाउने दिशामा धेरै अगाडि बढेका छन्,” उनले भने ।
सम्बोधनको अन्त्यमा उनले अमेरिकी सेनाका संयुक्त प्रमुख जनरल ड्यान केनले आइतबार बिहान ८ बजे (स्थानीय समयअनुसार) पत्रकार सम्मेलन गर्ने जानकारी पनि दिए ।
यद्यपि यसअघि ट्रम्पले विदेशमा अमेरिकी सैन्य हस्तक्षेप नगर्ने प्रतिवद्धता व्यक्त गर्दै आएका थिए । उनले यस पटकको आक्रमणलाई पहिलो कार्यकालमा गराएको इरानी कमाण्डर कासिम सुलेमानीको हत्यासरह ऐतिहासिक भनेका छन् ।