सामाजिक सञ्जाल फेसबुकमार्फत ६२ लाख ७५ हजार २०० रुपैयाँ ठगी गर्ने एक युवकलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का २० वर्षीय कुशेश्वर मेहता हुन् ।
प्रहरीका अनुसार मेहताले ‘भानिदा सुवन’ नामक नक्कली फेसबुक आइडी बनाई आफूलाई ‘फुइङ भानिदा’ नामक थाइल्याण्डको नागरिक र सिएम कमर्सियल बैंकका मेनेजरको रुपमा चिनाउँदै आएका थिए । उनले आफ्नो पहिचान प्रयोग गरी एलेन अर्बी शाही नामका व्यक्तिको सो बैंकमा खाता रहेको र उनी मृतक भएको, कुनै नातेदार नभएको भन्दै पीडित कुर्मराज शाहीलाई उक्त खातामा रहेको सम्पूर्ण रकम ट्रान्सफर गरिदिने प्रलोभन देखाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार उक्त झुटो आश्वासनमा परी पीडित शाहीले विभिन्न मितिमा मेहताको नाममा रहेको बैंक खातामा ६२ लाख ७५ हजार २०० रुपैयाँ पठाएका थिए । अनुसन्धानका क्रममा पीडितलाई झुटो विश्वास दिलाइ ठगी गरिएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
लामो समयदेखि फरार रहेका मेहतालाई प्रहरीले मङ्गलबार साँझ सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारी नजिकैको नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्यूरो, भोटाहिटी, काठमाडौं पठाइएको प्रवक्ता खतिवडाले जानकारी दिएका छन् ।