अनलाइन सञ्चारमाध्यममा पत्रकार आचारसंहिता कार्यान्वयनको अवस्थाबारे एक अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, पत्रकारिता आचारसंहिता अनुगमन तथा मानव अधिकार विभाग र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा सञ्चार क्षेत्रका अनुभवी व्यक्तित्वहरूले अनलाइन पत्रकारितामा आचारसंहिता पालनाको अवस्थाबारे विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा निर्मला शर्मा, रामकृष्ण अधिकारी, रमेश खतीवडा र रामप्रसाद दाहालले कार्यपत्र प्रस्तुत गर्दै अनलाइन पत्रकारिता बढ्दो अवस्थामा रहे पनि आचारसंहिताको पालना कमजोर देखिएको उल्लेख गरे।वक्ताहरूले डिजिटल युगमा समाचारको प्रभाव अझ संवेदनशील बनेको सन्दर्भमा पत्रकारहरूले नैतिकता, सत्यता र सन्तुलन कायम गर्न आवश्यक रहेकोमा जोड दिए ।
उनीहरूले प्रेस काउन्सिल र पत्रकार महासंघले निगरानी र अनुगमन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव पनि दिए। कार्यक्रममा अनलाइन सञ्चारमाध्यमका सम्पादक, पत्रकार, सञ्चारविद् र सम्बन्धित निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो ।