संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरूसँग छलफल गरेको छ ।
सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकमा उजुरीकर्ताहरूले आफ्नो पक्ष प्रस्तुत गरेका थिए।यसअघि, न्याय परिषद्को जेठ २७ गतेको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि सिफारिस गरेको थियो । यिनै प्रस्तावित न्यायाधीशहरू विरुद्ध समितिमा पाँच वटा उजुरी परेको थियो ।
शुक्रबार उजुरीकर्तासँगको छलफलपछि अब आइतबार ती तीन न्यायाधीशको संसदीय सुनुवाई हुने समितिकी सभापति ईश्वरी देवी न्यौपानेले जानकारी दिइन् । त्यस्तै, न्याय परिषद्को सदस्यमा सिफारिस भएका महेश कुमार नेपालको संसदीय सुनुवाई पनि आइतबार नै हुने बताइएको छ। नेपालविरुद्ध भने हालसम्म कुनै उजुरी परेको छैन ।