बाढी पूर्वानुमान महाशाखाले देशभरका २९ जिल्लामा बाढीको मध्यम जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार, आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौं, ललितपुर, भक्तपुर र आसपासका क्षेत्र भएर बहने नदी तथा खोलामा आकस्मिक बाढीको सम्भावना रहेको छ ।
यस्तै, पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ लगायतका जिल्लामा बहने केही साना नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको हो ।
महाशाखाका अनुसार, आज कोशी, नारायणी, कर्णाली, महाकाली तथा तिनका प्रमुख सहायक नदीहरू, साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने भए पनि बढ्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दाहरूलाई सजग रहन अनुरोध गरिएको छ ।
बाढीको सम्भावना रहेका क्षेत्रहरूमा पर्ने पहाडी तथा चुरे क्षेत्रका भिरालो बस्तीहरू, नदी किनारका बस्तीहरू, मुख्य तथा सहायक सडक यातायात, जलविद्युत् आयोजना, निर्माणाधीन संरचना, कृषि क्षेत्र तथा सिँचाइ प्रणालीमा विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।