सुनचाँदी व्यवसायीहरूले शुक्रबार सरकारले लगाएको करको विरोधमा पसल बन्द गरेर सडकमा प्रदर्शन गरेका छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघको संयुक्त अगुवाइमा माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म र्याली निकालिएको हो । र्यालीपछि नयाँ बानेश्वरमा कोणसभा सम्पन्न भएको छ । व्यवसायीहरूको विरोधमा सुनचाँदीका कालिगढ तथा मजदुरहरू समेत सहभागी भएका थिए ।
उनीहरूले सरकारलाई अविलम्ब करको निर्णय फिर्ता लिन माग गरेका छन् ।आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सुनचाँदीमा २ प्रतिशत विलासिता कर र रत्न तथा पत्थरमा १३ प्रतिशत कर लगाएको छ । उक्त करले व्यवसाय प्रभावित हुने भन्दै व्यवसायीहरूले आक्रोश व्यक्त गरेका हुन् ।उनीहरूको भनाइमा, "यो कर संरचनाले वैधानिक कारोबारमा बाधा पुर्याउनेछ र कालोबजारीलाई प्रोत्साहन दिनेछ ।"