सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा प्राविधिक समस्या देखिएपछि उक्त प्रणालीसँग सम्बन्धित सबै सेवा शुक्रबारदेखि बन्द गरिएको छ ।
यातायात व्यवस्था विभागले सूचना प्रकाशित गर्दै असार २० गतेदेखि सवारी चालक अनुमतिपत्र प्रणाली (EDL) मा समस्या देखिएको र समाधानको काम भइरहेकाले अर्को सूचना प्रकाशित नभएसम्म सेवा बन्द रहने जानकारी दिएको हो ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित EDL प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रिन्ट प्रणालीसमेत सबै सेवा बन्द गरिएको छ ।”
विभागले प्राविधिक समस्या समाधानका लागि आवश्यक काम भैरहेको जनाउँदै सेवाग्राहीलाई परेको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।