उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालका भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी विस्तार गर्न मलेशियाली लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहेको मलेशिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले नेपालको पूर्वाधार विकास र पर्यटनमा पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै लगानीकर्तालाई थप लगानी गर्न अनुरोध गर्नुभएको हो । उहाँले लगानीमैत्री नीति तथा उपयुक्त वातावरण नेपालमा रहेको जनाउँदै, निजी क्षेत्रका लागि सरकार आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको स्पष्ट पार्नुभयो ।
प्रतिनिधिमण्डलमा सहभागी लगानीकर्ताहरूले सूचना प्रविधि, व्यापार, जलविद्युत्, पूर्वाधार, वातावरण र पर्यटन क्षेत्रलाई प्राथमिक लगानी क्षेत्रको रूपमा लिँदै चासो व्यक्त गरेका छन् । भेटपछि परिषद्का अध्यक्ष कुकरेजाले नेपालमा बेरोजगारी दर उच्च रहेको उल्लेख गर्दै, लगानी विस्तारको माध्यमबाट रोजगारी सिर्जना गर्न सकिने बताए । उनले नेपालको सम्भावनापूर्ण क्षेत्रहरूमा साझेदारी गर्दै लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।