प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने घोषणा गरेका छन् । खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आयोजित कार्यक्रममा उनले कर्णाली करिडोर कर्णाली र हुम्लावासी मात्र नभई दुई छिमेकी देशसँगको अन्तर्राष्ट्रिय व्यापार मार्ग भएकाले यसको स्तरोन्नति अपरिहार्य भएको बताए ।
प्रधानमन्त्री ओलीले कर्णाली करिडोरलाई दुई लेनको सडक बनाउँदै कालोपत्रे गर्ने प्रक्रिया छिट्टै अघि बढाइने जनाए । साथै, चुवाखोलास्थित हालै निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गर्दै उक्त स्थानमा छिट्टै पक्की पुल निर्माण गरिने पनि घोषणा गरे ।
उनले हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा औपचारिक रूपमा जोडिनु ऐतिहासिक उपलब्धि भएको भन्दै खुसी व्यक्त गरे । प्रधानमन्त्री ओलीका अनुसार, छिमेकी राष्ट्र चीनसँग जोडिएको हिल्सा नाकामा छिट्टै क्वारेन्टाइन केन्द्र पनि निर्माण गरिनेछ ।
हुम्लालाई सडक सञ्जालमा जोड्नका लागि नेपाली सेनाले गत वर्ष चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडानको काम सुरु गरेको थियो । त्यसको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका थिए ।