संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी प्रावधान हेरफेर भएको प्रकरणमा छानबिन गर्न प्रतिनिधि सभाले ७ सदस्यीय विशेष संसदीय समिति गठन गरेको छ ।
सभामुख देवराज घिमिरेको प्रस्तावमा सोमबार प्रतिनिधि सभाबाट सर्वसम्मतिले समिति गठन गर्ने निर्णय पारित भएको हो। समितिलाई २१ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।विशेष समितिमा नेपाली कांग्रेसका जीवन परियार र सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की सदस्य रहेका छन् ।
राज्य व्यवस्था समितिले सर्वसम्मत पारित गरेको विधेयकमा अवकाश वा राजीनामापछि दुई वर्षसम्म संवैधानिक वा कूटनीतिक पदमा नियुक्ति नदिने ‘कुलिङ पिरियड’को प्रावधान थियो । तर प्रतिनिधि सभाबाट पारित हुँदा उक्त व्यवस्थामा ‘बाहेक’ शब्द थपेर खुकुलो बनाइएको पाइएको थियो ।
यस विषयमा व्यापक आलोचना भएपछि छानबिन समिति गठन गर्न माग उठेको थियो । विशेष समितिले हेरफेरमा संलग्न पक्ष पहिचान गरी कारबाही सिफारिस गर्ने र यस्ता प्रकरण दोहोरिन नदिन सुझाव दिने कार्यादेश पाएको छ ।