पर्सा प्रहरीले वीरगञ्जबाट काठमाडौँ जानलागेकाे भन्सार छली गरेर ल्याइएका करिब ४१ लाखभन्दा बढी मूल्य बराबरका सामग्रीसहित एक ट्रक सहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक चोकमा राति करिब ३:४५ बजे उक्त ट्रक जाँच गर्ने क्रममा लुकाइछिपाइ ल्याइएकाे उक्त सामान फेला पारेको हो । प्रदेश २–०३–००१ ख ५६०९ नम्बरको ट्रकमा इँटा लोड गरिएको देखिए पनि भित्री भागमा भन्सार नकटाई चोरी पैठारी गरिएको काजु, सटिङ सुटिङ थानका कपडा, कुर्ता सुरुवाल र लेडिज टप्सलगायतका सामग्री लुकाइएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा बारा जिल्लाको निजगढ नगरपालिका–४ का २८ वर्षीय निकेश राउत कुर्मी, २४ वर्षीय सागर परियार र ३८ वर्षीय विष्णु पाठक रहेका छन् ।
प्रहरीले उनीहरूलाई ट्रकसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । बरामद गरिएको सामग्रीको अनुमानित मूल्य ४१ लाख ७८ हजार ८ सय रुपैयाँ रहेको जनाइएको छ ।
भन्सार छली गरी आयात हुने वस्तुहरूविरुद्ध पर्सा प्रहरीले पछिल्लो समय निगरानी गरिरहेको जनाएकाे छ ।