पर्साको जिराभवानी गाउँपालिकास्थित सुगिभारको भलुवाही खोलामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तथा संकलनको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी सक्रिय भएको छ । प्रहरीले खोलामा अवैध रूपमा थुपारिएको गिटी–बालुवा ट्र्याक्टरले जोतेर नष्ट गरेको हो ।
भलुवाही खोलाबाट अवैध रूपमा गिटी, बालुवा तथा ढुङ्गा उत्खनन गरी संकलन र ओसारपसार भइरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीमाथि कारबाही गर्न दबाब परेको थियो ।
त्यसपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक विपिन कार्कीको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी र साझेदारी वन समूहका प्रतिनिधिको संयुक्त टोलीले खोलामा अवैध रूपमा संकलन गरी थुपारिएको गिटी तथा बालुवालाई ट्र्याक्टरले जोतेर नष्ट गरेको जनाइएको छ ।
यसैगरी, प्रहरीले उक्त क्षेत्रका ट्र्याक्टर व्यवसायीहरूलाई आवश्यक अनुमति नलिई खोलाबाट गिटी, बालुवा तथा अन्य नदीजन्य पदार्थ उत्खनन र ओसारपसार नगर्न कडा चेतावनी दिएको छ ।
सामाजिक सञ्जालमा दृश्य सार्वजनिक भएपछि मात्रै प्रहरी सक्रिय भएको घटनाले प्राकृतिक स्रोतको संरक्षण तथा अवैध उत्खनन नियन्त्रणमा नियमित अनुगमनको आवश्यकतालाई उजागर गरेको छ । नदीजन्य पदार्थको अवैध दोहन पूर्ण रूपमा रोक्न सम्बन्धित स्थानीय तह तथा नियामक निकायले निरन्तर निगरानी र प्रभावकारी कारबाही गर्नुपर्ने देखिन्छ ।



