अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि नेपालमै निःशुल्क रूपमा उपलब्ध हुने भएको छ ।
नेपालमा उपलब्ध नभएका औषधिका कारण उपचारका लागि विदेश जानुपर्ने समस्यालाई न्यून गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय च्यारिटी संस्था डाइरेक्ट रिलिफले नेपाल सरकारलाई ३७ प्रकारका औषधिहरू सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । यसैक्रममा औषधिको पहिलो खेप नेपाल आइपुगेको छ र ती औषधिहरू सरकारी अस्पतालमार्फत निशुल्क उपलब्ध हुनेछन् ।
वन हर्ट वर्ल्डवाइड संस्थामार्फत नेपाललाई प्रदान गरिएको औषधिको हस्तान्तरण कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सम्पन्न भएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदिप पौडेलले औषधिको अभावका कारण विदेश गएर महँगो उपचार गर्नुपर्ने अवस्थालाई न्यून गर्ने दीर्घ प्रयासपछि सफलता हात परेको बताए ।
“क्यान्सरको औषधि महँगो हुँदा विपन्न नागरिकलाई उपचारमा समस्या पर्छ,” मन्त्री पौडेलले भने, “राज्यको लगानी नलगाई धेरै नागरिकलाई राहत दिने प्रयास गरेका हौं ।”
डाइरेक्ट रिलिफले स्तन क्यान्सर, छाला क्यान्सर र अन्य विभिन्न प्रकारका क्यान्सर उपचारका लागि अत्यावश्यक औषधिहरू नेपाल सरकारलाई पाँच वर्षसम्म नियमित रूपमा सहयोग गर्ने भएको छ । मन्त्री पौडेलले औषधि सूची क्रमशः थप्दै अरु आवश्यक औषधिहरू पनि सहयोगमा ल्याउने प्रयास भइरहेको जानकारी दिए । उनले क्यान्सर उपचार केन्द्रहरूमा औषधि पठाउने व्यवस्था मिलाइएको समेत जानकारी गराए ।
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा. भीम सापकोटाले पाँच वर्षसम्म नेपालका क्यान्सर उपचारका लागि आवश्यक औषधिहरू प्राप्त गर्न समझदारी भएको बताए ।
मन्त्री पौडेलले सरकारद्वारा प्रदान गरिने स्वास्थ्य बीमा र सेवा सुविधाबारे जनतालाई जानकारी नहुँदा सेवा उपयोग गर्न नसकिरहेको उल्लेख गर्दै सञ्चार माध्यमहरूलाई यस्ता सूचनाहरूलाई प्राथमिकताका साथ सम्प्रेषण गर्न आग्रह गरे ।