सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–६ स्थित घुस्कीमा आइतबार राति एक किशोरीको गोली हानी हत्या गरिएको छ ।
प्रहरीका अनुसार १८ वर्षीया अर्सी खातुनको टाउकोमा गोली प्रहार गरी हत्या गरिएको हो । सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा मृतकका भिनाजु आजात मिया जटले गोली प्रहार गरेको भनिएको छ ।
भारतको पत्राहा पञ्चायत–१६ घुर्नाका २९ वर्षीय मिया आइतबार राति करिब १ बजे अर्सीलाई गोली हानेर फरार भएका छन् । गोली लाग्नासाथ अर्सीको घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा गोलीको एक खोका बरामद भएको प्रहरीको भनाइ छ । एसपी तिम्सिनाका अनुसार घटनाको कारण भने अहिलेसम्म खुल्न नसकेको छ। प्रहरीको अनुसन्धान जारी छ भने फरार मियाको खोजी तीव्र पारिएको छ ।
घटनास्थल भारतीय सीमा क्षेत्र नजिकै पर्ने भएकोले अनुसन्धानमा थप चुनौती देखिएको बताइएको छ ।