जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेमाथि भइरहेको ‘राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’मा ऐक्यबद्धता जनाएका छन् ।
राउत सोमबार रास्वपाको घण्टाघरस्थित केन्द्रीय कार्यालय पुगेर हस्ताक्षर अभियानमा सहभागी भएका हुन् ।
हस्ताक्षरपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राउतले जनमत पार्टी आफैँ न्यायका लागि लडिरहेको संगठन भएकाले अन्यायविरुद्ध बोल्न आएको बताए ।
‘हामी त न्यायका लागि लडिरहेको संगठन नै हो, त्यसैले रास्वपाको अभियानमा साथ छ,’ राउतले भने, ‘राजनीतिक मान्यता फरक भए पनि अन्यायको कुरामा हामी आवाज उठाउँछौँ ।’
राउतले कुनै पनि व्यक्तिविरुद्ध राज्यले राजनीतिक प्रतिशोधको नीति लिनु नहुने स्पष्ट पारे । उनले अदालतको निष्पक्षतामाथि जनस्तरमा उठिरहेका शंका–आशंकालाई सम्बोधन गर्नुपर्ने औंल्याए ।
‘कसरी अदालत प्रभावित हुन्छ भनेर हामी हाकाहाकी छौँ,’ उनले भने, ‘जनताले हस्ताक्षर गर्दैमा अदालतको विरोध भएको भन्ने होइन, बरु अदालतले न्याय दिन सकोस् भन्ने चाहना हो।’
डा. राउतको यो अभिव्यक्तिले रवि लामिछानेमाथि पछिल्लो समय देखिएको मुद्दा–मामिलालाई लिएर मुलुकको मुख्य विपक्षी धारमा रहेका दलहरूकै नेतृत्व तहमा पनि समर्थनको स्वर उठिरहेको संकेत गर्छ ।