मोबाइल वालेट सेवा ‘खल्ती’को कर्मचारी भएको भन्दै सर्वसाधारणलाई ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले आफू खल्तीको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने गरेका थिए । उनीहरूले ‘तपाईंको केवाईसी अपडेट गर्नुपर्ने छ, नत्र वालेट बन्द हुन्छ’, ‘बैंक खाता वालेटमा लिंक गरिदिन्छु’, ‘व्यावसायिक खातामा रकम प्राप्त हुँदा आवाज आउने ई–स्पिकर उपलब्ध गराइदिन्छु’ र ‘फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाइदिन्छु’ जस्ता प्रलोभन देखाएर विश्वासमा पार्ने गरेको बताइएको छ ।
त्यसपछि उनीहरूले अडियो तथा भिडियो कलमार्फत पीडितलाई मोबाइलको स्क्रिन शेयर गर्न लगाउने र ओटीपी कोडसमेत लिने गरेको प्रहरीको भनाइ छ। यसरी प्राप्त विवरण प्रयोग गरी बैंक खातामा अनधिकृत पहुँच पुर्याएर रकम ठगी गरेको आरोप उनीहरूमाथि छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।