करिब दुई दशकसम्म कोमामा रहेर ‘स्लिपिङ प्रिन्स’को उपनामले विश्वभर चिनिएका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ ।
सन् २००५ मा लन्डनमा सैनिक तालिमका क्रममा कार दुर्घटनामा परेर १५ वर्षको उमेरमा गम्भीर मस्तिष्क चोट बेहोरेका उनी त्यसयता लगातार अचेत अवस्थामै थिए । अमेरिकी र स्पेनिस चिकित्सकहरूको टोलीले उपचार गरे तापनि राजकुमार कहिल्यै पूर्ण होसमा फर्कन सकेनन् ।
यद्यपि, उनका शरीरमा कहिलेकाहीँ देखिने हल्का गतिविधिले परिवार, विशेषगरी उनका पिता राजकुमार खालिदलाई सधैँ आशावादी बनाइरह्यो । चिकित्सकहरूले जीवन रक्षक उपकरणहरू हटाउन सुझाव दिए पनि खालिदले ईश्वरीय चमत्कारप्रति विश्वास राख्दै त्यस्तो निर्णय लिन अस्वीकार गर्दै आएका थिए ।
कोमामै रहेका राजकुमारलाई कुरानका आयतहरू सुनाउँदा उनका शरीरका अंग हल्लिएको भिडियोले विश्वभरका मानिसहरूमा गहिरो सहानुभूति र सम्मान उत्पन्न गराएको थियो ।
तर, जुलाई १९, २०२५ मा साउदीको विशेष स्वास्थ्य केन्द्रले राजकुमारको निधन भएको घोषणा गरेपछि #SleepingPrince ह्यासट्याग विश्वभर सामाजिक सञ्जालमा ट्रेन्डिङ भएको छ। धैर्यता, आस्था र पितृप्रेमका प्रतीकका रूपमा हजारौँले उनलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।
छोराको शय्याछेउ अटल बस्ने पिता राजकुमार खालिदप्रति पनि विशेष श्रद्धा व्यक्त भइरहेको छ ।