युरोपियन जायन्ट बार्सिलोना सिजनको दोस्रो मैत्रीपूर्ण खेलमा पनि विजयी भएको छ । नेपाली समयअनुसार बिहीबार साँझ दक्षिण कोरियाको सिओल वर्ल्ड कप स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु क्लब एफसी सिओलमाथि ७–३ को फराकिलो जित दर्ता गरेको हो ।
खेलको पहिलो हाफमा दुवै टोलीले दुई–दुई गोल गर्दै खेल २–२ को बराबरीमा टुंग्याएका थिए । तर, दोस्रो हाफमा बार्सिलोनाले आफ्नो आक्रामक खेलशैली प्रदर्शन गर्दै थप पाँच गोल गर्न सफल भयो ।
बार्सिलोनाका लागि लमिन यमाल र फरान टोरेसले समान दुई–दुई गोल गरे। यस्तै, रोबर्ट लेवन्डोस्की, आन्द्रेस क्रिस्टिन्सन र गाभीले एक–एक गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
सिओलका लागि तीन गोल फर्काए पनि घरेलु टोली बार्सिलोनाको लयभित्र रहन असमर्थ रह्यो ।
बार्सिलोनाले यसअघि आइतबार जापानको क्लब भिसेल कोबेसँगको मैत्रीपूर्ण खेल खेलेको थियो । बिहीबारको खेलमा बार्सिलोनाले अधिकांश पहिलो रोजाइका खेलाडीलाई मैदानमा उतारेको थियो ।
मैत्रीपूर्ण खेलमार्फत प्रशिक्षक हान्सी फ्लिकले नयाँ सिजनका लागि टोलीको तयारीलाई तिब्रता दिइरहेका छन् ।