काठमाडौं | राष्ट्रिय गौरवको आयोजना तथा रणनीतिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको काठमाडौं–तराई/मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण कार्यले पुनः तीव्रता लिएको छ । नेपाली सेनाको पूर्ण व्यवस्थापन तथा निगरानीमा निर्माण भइरहेको यो द्रुतमार्ग आयोजना आगामी २०८३ सालको चैत मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको हो ।
यसअघि नीति, भूगोल र जग्गा अधिग्रहणका जटिलताले गर्दा काम ढिलो भएको थियो। तर अहिले आयोजनाले गति लिएको नेपाली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल राजाराम बस्नेतले जानकारी दिएका छन् ।
आर्थिक वर्ष २०८१/८२ को अद्यावधिक विवरणअनुसार २०८२ असार मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ४२.१३ प्रतिशत र वित्तीय प्रगति ४४ प्रतिशत (मोबिलाइजेसनसहित) पुगेको छ ।
१३ प्याकेजमध्ये अधिकांशमा निर्माण कार्य अघि बढ्दै
काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाका १३ वटा निर्माण प्याकेजहरुमध्ये प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन अवस्थामा छन् । प्याकेज नं. ११ अन्तर्गत पर्ने खोकना–डुकुछाप खण्डमा भने जग्गा अधिग्रहण र सवारी आवागमन व्यवस्थापनका लागि समन्वय कार्य भइरहेको छ ।
हालसम्म आयोजनामा कुल ८० अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ । त्यसमा १ अर्ब ६५ करोड जग्गा अधिग्रहणको पेश्की, ८२.३७ करोड निर्माण व्यवसायीलाई दिइएको पेश्की, ९.८१ करोड विद्युत प्राधिकरणलाई दिइएको पेश्की तथा अन्य राजस्वसमेत समावेश गरिएको छ । यी सबै रकम कटौती गरेपछि आयोजनाको वास्तविक खर्च ७७ अर्ब ९७ करोड रुपैयाँ रहेको छ ।
नमूना सडक बन्दै लेनडाँडा खण्डमा ६१% प्रगति
फास्ट ट्र्याक अन्तर्गतको लेनडाँडा खण्डमा सडक निर्माण कार्य उल्लेखनीय रूपमा अघि बढेको छ । हालसम्म सो खण्डको ६१ प्रतिशत काम सम्पन्न भइसकेको छ ।
यस खण्डमा ६ वटा पुल (कुल लम्बाइ १,१०७ मिटर), २ वटा डबल ट्युनल (ब्रेकथ्रु सम्पन्न, फिनिसिङ कार्य जारी), तथा ५ वटा कलभर्ट निर्माण सम्पन्न भइसकेका छन् ।
त्यसैगरी ८१ मिटर अग्लो पुलको फाउन्डेसन निर्माण पूरा गरी सुपरस्टक्चर निर्माण सुरु गरिएको छ । यस सडकको पहिलो पूल (पुल नं. ३५, लम्बाइ ३३३ मिटर) निर्माण सम्पन्न भई सवारी साधन सञ्चालनमा आइसकेको छ ।