आठौं संस्करणको मिस नेपाल नर्थ अमेरिका–२०२५ को उपाधि दीपा श्रेष्ठले जितेकी छन् । हाल न्यूयोर्कमा बसोबास गर्ने उनी आँबु खैरेनी, तनहुँकी स्थायी बासिन्दा हुन् ।
दुई दिनअघि अमेरिकामा सम्पन्न प्रतियोगितामा श्रेष्ठले १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उपाधि जितेपछि उनी सिधै काठमाडौंमा आयोजना हुने मिस नेपाल प्रतियोगितामा प्रवेश पाएकी छिन् भने नेपाल पर्यटन बोर्डको सद्भावना दूतको रूपमा पनि चयन भएकी छिन् ।
यसैगरी, टेनेसी राज्यकी कृष्मा सुवेदी फर्स्ट रनर्सअप र टेक्सास राज्यकी आर्या कोइराला सेकेण्ड रनर्सअप बनेका छन् ।
प्रतियोगिताको निर्णायक मण्डलमा अभिनेता प्रदीप खड्का, अनुप विक्रम शाही, अभिनेत्री आँचल शर्मा, मिस नेपाल सदीक्षा श्रेष्ठ र सामाजिक संस्था स्नेह केयरकी संस्थापक स्नेहा श्रेष्ठ रहेका थिए ।
यो प्रतियोगिताको आयोजना गर्ने ड्रीम्स युनिभर्सलका प्रमुख शैलेन्द्र श्रेष्ठले मिस नेपाल नर्थ अमेरिका–२०२५ उत्साहजनक र सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएका छन् ।