वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई ठगीबाट जोगाउन र सूचना प्रणालीलाई पारदर्शी बनाउने उद्देश्यले सरकारको नयाँ व्यवस्था लागू भएको छ । अबदेखि वैदेशिक रोजगारका सबै विज्ञापनहरू अनिवार्य रूपमा श्रम संसार पोर्टल तथा श्रम संसार मोबाइल एपमा पनि प्रकाशित गर्नुपर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले साउन १३ गतेदेखि लागू हुनेगरी यो व्यवस्था ल्याएको हो ।
यसअघि वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा मात्र विज्ञापन प्रकाशित गर्नुपर्ने व्यवस्था थियो, जुन यथावत् कायम छ । तर अब पत्रिकामा प्रकाशित विज्ञापनको सम्पूर्ण विवरण अनिवार्य रूपमा श्रम संसार पोर्टल (www.shramsansar.gov.np) मा पनि अपलोड गर्नुपर्नेछ ।
विभागका अनुसार, यसबाट नागरिकले मोबाइलमै सजिलै विज्ञापन हेर्न र त्यसको सत्यता जाँच गर्न सक्नेछन्, किनकि श्रम संसार पोर्टल नागरिक एपसँग पनि समन्वयमा छ ।
यदि कुनै वैदेशिक रोजगार व्यवसायीले अनलाइन पोर्टलमा विज्ञापन अपलोड नगरेमा त्यो विज्ञापन अपूर्ण मानिने छ र नियमानुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
यो कदमले वैदेशिक रोजगारी सम्बन्धी प्रक्रिया थप पारदर्शी, व्यवस्थित र भरपर्दो हुने सरकारी विश्वास छ ।