राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय चमतीमा बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, ‘कुलिङ अफ् पिरियड’ छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी तथा उम्मेदवारी, पार्टी विधान संशोधन प्रस्ताव लगायतका विषयमा छलफल हुने छ ।
बैठकमा प्रदेश इन्चार्जहरूले पेश गर्ने प्रदेश रणनीति र रिपोर्ट, केन्द्रीय सदस्यहरूको रिपोर्टिङ, पार्टी सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन, विधान व्याख्या तथा अनुमोदन, केन्द्रीय विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई पुनः जिम्मेवारी दिने प्रस्ताव, निर्वाचन आयोगसमक्ष मनोनयन प्रक्रिया, रणनीतिक समूह गठन, संगठन सुदृढीकरणका लागि थप जिम्मेवारी वितरणलगायतका विषयहरू पनि एजेन्डामा छन् ।
त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा समेत छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।
यस्तै, सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधविरुद्ध सुरु गरिएको जनताको हस्ताक्षर अभियानको प्रगति रिपोर्ट प्रस्तुत गरिनेछ। सो अभियानलाई थप प्रभावकारी बनाउने रणनीति तय गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।