जल तथा मौसम विज्ञान विभागले सोमबार सातै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ भने मधेश सहित विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको विभागले जनाएको छ । दिउँसो पहाडी भूभागका धेरै स्थानहरूमा र मधेस प्रदेशलगायत देशका बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । त्यस्तै, कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईको एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ ।
राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ । राति मधेस प्रदेशलगायत कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी प्रदेशको पहाडी भूभाग तथा मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।