खडेरीको असरका बीच मधेस प्रदेशका आठ जिल्लामा हालसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार प्रदेशमा सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत र सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको छ । प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेती योग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने गरेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भएको छ ।
निर्देशक यादवका अनुसार पर्याप्त वर्षा नभए पनि बोरिङको माध्यमबाट रोपाइँको क्षेत्र विस्तार भएको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमतीबाट किसानले सिँचाइ सुविधा पाएका छन् भने धनुषामा कमला नदी सुक्दा समस्या देखिएको छ ।
यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत कमी आउने निर्देशक यादवको भनाइ छ । सुक्खा र खडेरी प्रभावित क्षेत्रका लागि भूमिगत सिँचाइ व्यवस्थापन सहयोग कार्यक्रम अन्तर्गत प्रदेश सरकारले किसानलाई तत्काल राहत दिने घोषणा गरेपछि प्रदेशभरका २२ हजार ५२ किसानले आवेदन दिएका छन् । मधेस प्रदेश सरकार सिँचाइ सहयोगका लागि सङ्घीय सरकारको निर्णयको पर्खाइमा रहेको मुख्यमन्त्री सतिशकुमार सिंहले बताए ।
उनका अनुसार प्रदेश सरकारले यसका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन गरे पनि यो रकम पर्याप्त नभएको हो ।
भिडियाे सामाग्री