प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति र खेतीपातीको अवस्थाबारे कृषि तथा पशुपंक्षी विकासमन्त्री, सचिव तथा सम्बन्धित निकायका पदाधिकारीसँग आज सिंहदरबारमा उच्चस्तरीय छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी, सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर किसानलाई समयमा मल उपलब्ध गराउने विषयमा समस्या समाधानका उपायहरूबारे चर्चा गरेका हुन् ।
हाल मौज्दात मल पर्याप्त भए पनि किसानले समयमा नपाएको गुनासो आएपछि प्रधानमन्त्री ओलीले यस विषयलाई उच्च प्राथमिकतामा राख्दै आएका छन् ।
छलफलमा प्रधानमन्त्री ओलीले खेतीपातीको समय हुनु अगावै मलको अभाव नहुने गरी काम गर्न, नेपालमै रासायनिक मल उत्पादन गर्ने कारखाना खोल्न, र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना ल्याउन निर्देशन दिएका थिए ।