काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको सहज आपूर्ति, खेतीको अवस्था लगायतका विषयमा आज कृषि तथा पशुपक्षी विकास मन्त्री, सचिव र सम्बन्धित निकायका अधिकारीसँग छलफल गर्दैछन् ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, प्रधानमन्त्रीले अपराह्न कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारी, मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएका छन् ।
देशमा मलको पर्याप्त मौज्दात रहेको र आयातको क्रम जारी रहँदा समेत किसानहरूले समयमा मल नपाएको गुनासो गर्दै आएका थिए । यसकारण प्रधानमन्त्री ओलीले यस समस्या समाधानमा आफ्नो ध्यान केन्द्रित गरेका छन् ।
यसअघि पनि प्रधानमन्त्री ओलीले कृषिमन्त्रीसहित सम्बद्ध अधिकारीहरूसँगको छलफलमा मलको अभाव हुन नदिन स्वदेशमै रासायनिक मल उत्पादन कारखाना स्थापना गर्ने र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना तयार गर्न निर्देशन दिएका थिए ।