मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले आगामी २४ घण्टा मनसुन सक्रिय रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर पूर्णतया बदली हुने र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो । महाशाखाका अनुसार मधेस प्रदेशसहित कोशी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा र एकदुई स्थानमा मुसलधारे वर्षा हुने सम्भावना छ ।
कर्णाली प्रदेशका एकदुई स्थानमा समेत भारी वर्षाको सम्भावना रहेको छ । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा पूर्णतया बदली रहनेछ भने बाँकी क्षेत्रमा सामान्य बदली हुने पूर्वानुमान छ । गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा अत्यधिक वर्षा हुने, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने, यातायात सेवा अवरुद्ध हुने सम्भावनाबारे चेतावनी दिँदै सतर्कता अपनाउन र पूर्वतयारी गर्न आग्रह गरेको छ ।
भिडियाे सामाग्री