अस्ट्रेलियाको डार्बिनमा शुक्रबारदेखि सुरू भएको टप एन्ड टी–२० क्रिकेट सिरिजमा नेपालले पहिलो खेल घरेलु टोली नर्दन टेरिटोरीसँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजे सुरू हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गरिरहेका छन्। सिरिजमा अस्ट्रेलियाको बिग ब्यास टोलीका एकेडेमी टिमसहित पाकिस्तान ‘ए’ र बंगलादेश ‘ए’ पनि सहभागी छन् । नेपालले आफ्नो दोस्रो खेल शनिबार बंगलादेश ‘ए’ विरुद्ध खेल्नेछ । यस्तै सोमबार मेलवार्न स्टार्स एकेडेमी, बुधबार मेलवार्न रेनेगेड्स एकेडेमी र अर्को शुक्रबार पाकिस्तान शाहिन्ससँग खेल्ने तालिका छ । यस सिरिजलाई नेपालले अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीको रूपमा लिएको छ ।
सिरिजपछि नेपालले एक सातासम्म अस्ट्रेलियामा थप अभ्यास गर्नेछ । यो अवधिमा नेपालले २६ अगस्टमा क्रिकेट एसिटीसँग दुई वटा, २८ अगस्टमा साउथ अस्ट्रेलियासँग दुई वटा टी–२० खेल खेल्नेछ । त्यसपछि ३० अगस्टमा साउथ अस्ट्रेलियासँगै एकदिवसीय खेल हुने क्यानले जनाएको छ । अस्ट्रेलिया भ्रमणपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० सिरिज खेल्नेछ ।
आगामी एसिया एन्ड इस्ट एसिया प्यासेफिक छनोटमा नेपालसहित नौ टोली सहभागी हुनेछन् । शीर्ष तीन टोलीले आगामी वर्ष भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।
भिडियाे सामाग्री