काठमाडौँ | अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल स्थानीय क्लब नर्दन टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको छ ।
शुक्रबार डार्विनमा भएको खेलमा १७८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३५ रनमा समेटियो । नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ रन बनाए भने गुलसन झाले २६, कप्तान रोहित पौडेलले २३, उपकप्तान दीपेन्द्रसिंह ऐरीले १९ र ओपनर आशिफ शेखले ११ रन योगदान दिए ।
बलिङमा नर्दन टेरिटोरी स्ट्राइकरका म्याट ह्यामन्डले तीन विकेट लिए। केन रिचर्डसन र थोमस एन्ड्रयुले दुई–दुई तथा हामिस मार्टिनले एक विकेट लिए ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नर्दन टेरिटोरीले २० ओभरमा आठ विकेट गुमाउँदै १७७ रन बनाएको थियो। टोलीका लागि डार्सी सटले सर्वाधिक ५१ रन बनाए भने टम एन्ड्रियुजले अविजित ३२, जोर्डन सिल्कले १९, कोनोर क्यारोलले १८, क्याडल म्याकम्यहोनले १२ र ज्याक वेदरएल्डले ११ रन बनाए ।
नेपालका सन्दीप लामिछानेले चार ओभरमा ३८ रन खर्चिएर तीन विकेट लिएका थिए । शाहब आलमले ३२ रन दिँदै दुई विकेट लिए भने गुलसन झा, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे ।
डार्विनमा अगस्ट २४ सम्म चल्ने टप एन्ड टी–२० सिरिजमा नेपालले दोस्रो खेल अगस्ट १६ मा बङ्गलादेश ‘ए’ विरुद्ध खेल्नेछ । यस्तै, नेपालले अगस्ट १८ मा मेलबर्न स्टार्स, १९ मा होबार्ट हुरिकेन्स, २० मा मेलबर्न रेनेगेड्स र २२ मा पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ। सिरिजमा ११ टोलीको सहभागिता छ ।
सिरिजपछि नेपालले अगस्ट २६ देखि ३० सम्म क्रिकेट एसिटी र साउथ अस्ट्रेलियाविरुद्ध पाँच अभ्यास खेल खेल्नेछ। नेपालले अगस्ट २६ मा एसिटी र २८ मा साउथ अस्ट्रेलियासँग दुई–दुई टी–२० खेल तथा अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल खेल्ने कार्यक्रम छ ।
अष्ट्रेलिया भ्रमणलाई नेपालले आगामी अक्टोबरमा हुने आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको तयारीका रूपमा लिएको छ ।
भिडियाे सामाग्री