नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक इन्जिनियर कुलमान घिसिङले नेपाल विद्युतीय सवारी साधन चल्ने देशका रूपमा विश्वकै अग्रपंक्तिमा पुगेको दाबी गरेका छन् ।
सोसाइटी अफ नेप्लिज इन्जिनियर्स यूके (सोने यूके)ले बिहीबार साउथ ह्यारोमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले विद्युतीय सवारी साधन पेट्रोलियम साधनभन्दा १५ गुणा सस्तो हुने भएकाले गाउँगाउँसम्म पुगेको बताए । घिसिङले प्राधिकरण घाटामा छ भन्ने प्रचार गलत भएको स्पष्ट गर्दै आफ्नो कार्यकालको प्रारम्भमा देशमा १६ घण्टासम्म लोडसेडिङ रहे पनि त्यसलाई अन्त्य गरेर प्राधिकरणलाई ९० अर्ब रुपैयाँसम्म नाफामा पु¥याउन सफल भएको स्मरण गरे । उनका अनुसार हाल नेपालमा ४ हजार मेगावाट विद्युत उत्पादन भइसकेको छ भने करिब ७ हजार मेगावाट निर्माणाधीन अवस्थामा छ ।
निजी क्षेत्रको सहभागिता बढेपछि पछिल्ला ८ वर्षमा विद्युत उत्पादन ५ गुणा बढी भएको उनको भनाइ थियो ।
भारत र बंगलादेशमा विद्युत निर्यात
घिसिङले क्रस–बोर्डर ऊर्जा व्यापारबारे जानकारी दिँदै हाल नेपालले भारत र बंगलादेशमा करिब १ हजार मेगावाट बिजुली निर्यात गरिरहेको जनाए । “गत वर्ष १७ अर्ब रुपैयाँ बराबरको विद्युत निर्यात हुँदा आयात भने १२ अर्ब रुपैयाँ मात्र भएको थियो,” उनले भने ।
विद्युतको प्रयोगले वातावरणमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले ग्रीन हाइड्रोजनलाई नेपालको आगामी उर्जा स्रोतको रूपमा पहिचान गरिन सक्ने बताए । यो क्लिन इनर्जी युरोपमा समेत निर्यात गर्न सकिने सम्भावना रहेको उनको भनाइ थियो ।
ऊर्जा नै विकासको आधार
उनले इनर्जी सेक्युरिटी र फुड सेक्युरिटीका लागि नेपालको जलविद्युत प्रभावकारी बनेको उल्लेख गर्दै सौर्य उर्जा उत्पादन र प्रयोग बढ्दो क्रममा रहेको जानकारी दिए । मानव संसाधन नेपालको ठूलो सम्पत्ति भएकाले विदेशमा रहेका नेपाली इन्जिनियरहरूको योगदान महत्वपूणर्न रहेको पनि उनले बताए ।
“नेपालमा बत्तीको मात्र उज्यालो होइन, सुशासन, समृद्धि र आशाको उज्यालो छर्नका लागि मैले ‘उज्यालो नेपाल अभियान’ सुरु गरेको छु,” उनले भने । सो अभियानले राम्रा नेतृत्व विकास गर्ने लक्ष्य राखेको पनि उनले स्पष्ट गरे ।
वंशजको नेपाली नागरिकताको निरन्तरतासम्बन्धी समस्या समाधान भएमा मात्र विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिन सक्ने उनको धारणा थियो ।
छलफल र प्रश्नोत्तर
कार्यक्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राख्दा उनले ३५ वर्षपछि जलविद्युत आयोजना सरकारले नै लिने कानुनी व्यवस्था, प्राधिकरण घाटाबाट नाफामा पु¥याउने रणनीति र हाल फेरि घाटाको चर्चा हुनुका कारणबारे प्रष्ट्याएका थिए । सो अवसरमा सोने यूकेका अध्यक्ष वरिष्ठ इन्जिनियर सुवोध तिमिल्सिनाले प्रमुख अतिथि घिसिङप्रति आभार व्यक्त गर्दै ऊर्जा क्षेत्र विकासको आधारशिला भएको उल्लेख गरे । उनले नेपालमै लगानी गर्ने वातावरण बनेमा प्रवासी इन्जिनियरहरू सक्षम रहेको बताए ।
कार्यक्रममा इन्जिनियर विजय गुरुङले घिसिङप्रति आभार व्यक्त गरे भने महासचिव मनोज पुनले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव संगीता पोख्रेलले गरेकी थिइन् ।
भिडियाे सामाग्री