अस्ट्रेलिया । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । यसअघि मंगलबार भएको चौथो खेलमा नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ रनले पराजित गरेको थियो ।
डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा आजको खेलमा नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा सबै विकेट गुमाउँदै १६८ रनमा अलआउट भयो । रेनेगेड्सका लागि अर्जुन नायरले सर्वाधिक २६ रन बनाए भने जे लेमिरले १८ र ह्यारी डिक्सनले १६ रन जोडेका थिए ।
नेपालका सोमपाल कामीले पाँच विकेट लिएर टोलीलाई जित दिलाउने मुख्य भूमिकामा रहे । कुशल भुर्तेलले दुई विकेट लिएका थिए भने रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र शाहब आलमले समान एक/एक विकेट झारे ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १३९ रनको योगफल बनाएको थियो । नेपालका लागि कुशल मल्लले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाएका थिए। दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन, लोकेश बमले १६ बलमा २४ रन जोडे । भीम सार्कीले १७, आरिफ शेख र रुपेश सिंहले समान १२/१२ रन बनाए ।
रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई/दुई विकेट लिए ।
नेपालले यसअघि चार खेलमध्ये एकमा जित र तीन खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले, दोस्रो खेलमा बङ्गलादेश ‘ए’सँग ३२ रनले, र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो । नेपालले यही भदौ ६ गते पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
भिडियाे सामाग्री