बारा | जीतपुरसिमरा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०८२ को तयारी तीव्र गतिमा भइरहेको छ । आयोजक सिमरा भेट्रान क्लबका अनुसार प्रतियोगिता भदौ २१ गतेदेखि सुरु भई भदौ २८ गतेसम्म सिमरा रंगशालामा सञ्चालन हुनेछ।
प्रतियोगितामा भारतसहित ८ वटा टिमको सहभागिता रहनेछ। विजेताले नगद ५ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आयोजक क्लबका अध्यक्ष राजकपुर राउत विजयका अनुसार अहिले मैदान व्यवस्थापनदेखि आन्तरिक तयारीसम्म धमाधम भइरहेको छ । ‘हामी अहिले फिल्ड व्यवस्थापनलगायतका काम धमाधम गरिरहेका छौं, आन्तरिक तयारी पनि तीव्र गतिमा भइरहेको छ,’ अध्यक्ष राउतले बताउनुभयो। प्रतियोगिता राति फ्लड लाईटमा खेलाइनेछ ।
क्लबका सचिव हरि चौधरीका अनुसार नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ जिल्ला फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ, धरान सिटी फुटबल क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक क्लब प्रतियोगितामा सहभागी हुनेछन् ।
त्यस्तै, प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई १ लाख रुपैयाँ तथा उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । महिला फुटबलको विकास र प्रवर्द्धनका लागि यसपटकदेखि प्रतियोगिता सुरु गरिएको आयोजक क्लबले जनाएको छ । क्लबले प्रतियोगितालाई आगामी वर्षदेखि पनि नियमित रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।
भिडियाे सामाग्री