बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले बान्द्रा फेमिली कोर्टमा सम्बन्धविच्छेदको लागि निवेदन दर्ता गरेको भारतीय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।
भारतीय मिडियाका अनुसार सुनिताले डिभोर्स पेपरमा गोविन्दामाथि अन्य महिलासँग सम्बन्ध राखेको र क्रूर व्यवहार गरेको आरोप लगाएकी छन् । उनले हिन्दू विवाह ऐन, १९५५ को धारा १३(१)(आई), (आईए) र (आईबी) अन्तर्गत सम्बन्धविच्छेद मागेकी छिन् ।
पारिवारिक अदालतले मे २५ मा गोविन्दालाई उपस्थित हुन बोलाए पनि उनी हाजिर नभएको बताइएको छ । भने, सुनिता भने नियमित रूपमा अदालत धाइरहेकी छन् ।
तर, गोविन्दाको नजिकको वृत तथा उनका म्यानेजरले यी रिपोर्टलाई अफवाह भन्दै अस्वीकार गरेका छन् ।
यसअघि पनि ६१ वर्षीय गोविन्दा र सुनिताबीच सम्बन्धविच्छेदको चर्चा चलेको थियो । त्यतिबेला गोविन्दाको एक मराठी अभिनेत्रीसँगको अफेयरबारे समाचार आए पनि दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।
पछिल्ला दिनमा सुनिता भ्लगिङमा सक्रिय रहेकी छिन् । एक भ्लगमा उनले परिवारमा उतारचढाव आउनु सामान्य भएको र कठिनाइ आए पनि आस्थाले सबैलाई जोगाउने विश्वास व्यक्त गरेकी थिइन् ।
भारतको प्रतिष्ठित पत्रिका द इन्डियन एक्सप्रेस ले समेत सुनिताले बान्द्रा कोर्टमा सम्बन्धविच्छेदको निवेदन दर्ता गरेको उल्लेख गरेको छ ।