वीरगंज | वीरगंज महानगरपालिकाका विभिन्न वडामा हैजा (कोलेरा) को संक्रमण तीव्र गतिमा फैलिँदै जाँदा अस्पतालहरूमा बिरामीको चाप असामान्य रूपमा बढेको छ ।
जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म वीरगंजका वडा नं. ३, ११, १२ र १३ मा हैजा पुष्टि भएको छ। उनका अनुसार हालसम्म अस्पतालमा भर्ना भएका १२९ जनामध्ये ४२ जनामा हैजा पोजेटिभ देखिएको छ।
अस्पतालको अवस्था
-
नारायणी अस्पतालमा ३३ मध्ये १८ जना पोजेटिभ
-
तराई हस्पिटलमा ३५ मध्ये १२ जना पोजेटिभ
-
नेशनल मेडिकल कलेजमा ३४ मध्ये ५ जना पोजेटिभ
-
अली अर्थो सेन्टरमा ४ मध्ये २ जना पोजेटिभ
-
नारायणी सेन्ट्रलमा ५ मध्ये २ जना पोजेटिभ
-
भवानी हस्पिटलमा २ जना पोजेटिभ
-
वीरगञ्ज हेल्थ केयरमा १४ जना भर्ना (रिपोर्ट आउन बाँकी)
यी बाहेक झाडापखाला र हैजाको शंका लागेका गरी हाल तीन सयभन्दा बढी बिरामी विभिन्न अस्पतालमा उपचाररत रहेको नारायणी अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए । उनका अनुसार, “पुष्टि भएका हैजा संक्रमितभन्दा दोब्बर झाडापखालाका बिरामी भर्ना भएका छन् । बेड नपुग्दा बिरामीलाई बरन्डाको भुइँमा राखेर उपचार भइरहेको छ ।”
कारण र जोखिम
डा. सिंहका अनुसार संक्रमित अधिकांशले नेपाल खानेपानी संस्थानको धाराबाट पानी सेवन गरेका थिए । सो क्षेत्रमा पाइप फुटेर नालाबाट दूषित पानी मिसिएको पुष्टि भएको छ । दूषित खानेपानी, ढल–खानेपानीको एउटै पाइपलाइन, जथाभावी डिप बोरिङ, र नालासँगै पाइप जडान गरिएको हुँदा हैजा फैलिएको देखिएको छ ।
यसबीच खानेपानी मन्त्री प्रदीप यादव शनिबार नै वीरगंज पुगेका छन् । उनले नारायणी अस्पताल, तराई हस्पिटल र वीरगञ्ज हेल्थ केयरलगायत अस्पतालहरूमा उपचाररत बिरामीको अवस्थाबारे जानकारी लिँदै खानेपानी र सरसफाइको तत्काल सुधार गर्ने आश्वासन दिएका छन् ।
भिडियाे सामाग्री