काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशिएका नेपालीहरूको मृत्यु दर भयावह बन्दै गएको छ । परदेशमा धन कमाएर परिवारलाई सुखमय जीवन दिने सपना बोकेर गएका युवाहरू बाकसमा फर्कनु परिरहेको अवस्था बढ्दै गएको छ । पछिल्लो एक महिनामा मात्रै १७४ नेपालीको शव विदेशबाट नेपाल ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अनुसार साउन महिनामा मात्रै १७४ जनाको शव नेपाल ल्याइएको हो । यसरी हरेक दिन सरदर ४ देखि ५ जना नेपालीको शव नेपाल आउने गरेको तथ्यांकले देखाएको छ ।
मृत्यु हुने नेपालीहरूको संख्या सबैभन्दा धेरै कुवेत, मलेसिया, साउदी अरेबिया, दक्षिण कोरिया, कतारलगायतका मुलुकमा रहेका श्रमिकमा रहेको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा रहेका १,२५५ जनाको मृत्यु भएको थियो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकामध्ये मृत्यु भएकाहरूलाई बोर्डले आर्थिक सहायता उपलब्ध गराएको थियो ।
तर प्रहरीद्वारा मुचुल्का उठाइएका र सम्बन्धित परिवारलाई बुझाइएका शवहरूको तथ्यांक हेर्दा सोही अवधिमा १,४०१ जनाको मृत्यु भएको पाइएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा पनि १,४५५ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।
यसले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको जीवन सुरक्षा गम्भीर प्रश्नमा रहेको स्पष्ट पारेको छ ।
भिडियाे सामाग्री