काठमाडौं प्रवेश गर्ने मुख्य नाकामध्ये एक, नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब अंग्रेजी नयाँ वर्ष २०२६ बाट सञ्चालनमा आउने भएको छ । २०७६ कात्तिक ४ मा सुरु भएको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब बाँकी काम पूरा गरेर सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार सुरुङ सञ्चालन गर्नेसम्बन्धी निर्देशिका यातायात व्यवस्था विभागले गत चैत २५ गते नै जारी गरिसकेको छ। उनले भने, “अहिले सुरुङभित्र जडित उपकरणको परीक्षण भइरहेको छ । जेट फ्यान, सीसीक्यामेरा, बत्ति लगायत उपकरणको एकैपटक परीक्षण भइसकेपछि मात्र सञ्चालनमा ल्याइनेछ ।”
नेपालका अनुसार सुरुङमार्ग सञ्चालन गर्न आवश्यक जनशक्ति तथा संस्थागत निकाय छान्ने प्रक्रिया पनि सुरु भइसकेको छ । १५ दिनभित्र बोलपत्र आह्वान गर्ने तयारी भइरहेको उनको भनाइ छ ।
सवारीसाधन शुल्क निर्धारण
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि लाग्ने शुल्क मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक गणेशबहादुर केसीका अनुसार कार र भ्यानलाई काठमाडौं प्रवेश गर्दा रु ६५ र बाहिरिँदा रु ६० तोकिएको छ।
मिनीबस, ट्रक र टिपरलाई भित्रिँदा रु ११५ र बाहिरिँदा रु ८०, बस र ट्रकलाई भित्रिँदा रु २६० र बाहिरिँदा रु २००, ठूला ट्रक तथा हेभी सवारी (लरी) लाई भित्रिँदा रु ६०० र बाहिरिँदा रु २५० तोकिएको छ ।
निर्देशिकाअनुसार पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे, नन–मोटोराइज्ड सवारीसाधन तथा अत्यधिक प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा प्रवेश निषेध गरिएको छ ।
निर्माण प्रगति
४२ महिनाभित्र सम्पन्न गर्ने योजना बनाइएको सुरुङमार्ग निर्माण कार्य ६९ महिना बित्दा पनि अलि ढिलो भएको छ । अहिलेसम्म ९४.५ प्रतिशत काम सकिएको छ भने साढे ५ प्रतिशत मात्र काम बाँकी छ ।
मुख्य सुरुङ २,६८८ मिटर र आपत्कालीन सुरुङ २,५५७ मिटर लम्बाइको छ। परियोजनाको कुल लागत २२ अर्ब रुपैयाँ रहेको छ, जसमा जापानको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ । निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसन ले लिएको हो ।
समय बचत र लाभ
सिस्ने खोलाबाट बलम्बु पुग्न हाल सडकमार्ग हुँदै ३३ मिनेट समय लाग्ने भए पनि सुरुङमार्ग सञ्चालनमा आएपछि केवल ७ मिनेटमै पुग्न सकिने आयोजना कार्यालयले जनाएको छ । यसले नागढुंगा उकालोमा हुने दैनिक ट्राफिक जाम कम गर्न ठूलो योगदान गर्ने अपेक्षा गरिएको छ ।