इम्बोस्ड नम्बर प्लेट जडान नगरेका सवारीधनीहरूमाझ फैलिएको ‘तत्काल जरिवाना हुने’ भन्ने हल्लालाई यातायात व्यवस्था विभागले खण्डन गरेको छ ।
विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै अहिले कसैलाई पनि तत्काल जरिवाना वा कारबाही नगरिने स्पष्ट पारेको हो ।
केही समययता सामाजिक सञ्जाल र विभिन्न माध्यममा असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट नजडान गरेका सवारीमा जरिवाना र कारबाही गरिने भन्ने अफवाह फैलिएको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको विभागले जनाएको छ ।
विभागका अनुसार, यातायात व्यवस्था ऐन र नियमावलीअनुसार इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य भए पनि यसको कार्यान्वयनका लागि तत्काल कुनै जरिवाना वा कारबाही नगरिने भएको हो । विभागले सबै सवारीधनीलाई आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ ।
त्यस्तै, इम्बोस्ड प्लेटमार्फत प्राप्त हुने तथ्याङ्क विदेशीको हातमा पुग्ने र राष्ट्रिय सुरक्षामा खतरा हुने भन्ने हल्लाप्रति विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागका अनुसार सम्पूर्ण तथ्याङ्क विभागकै परिसरमा रहेको सुरक्षित डाटा सेन्टरमै राखिएको छ र डाटाको सुरक्षा सुनिश्चित गरिएको छ ।