पर्साको वीरगञ्जमा हैजाका थप ७५ नयाँ संक्रमित भेटिएका छन्। यससँगै जिल्लाभर संक्रमितको संख्या ६९७ पुगेको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।
पछिल्लो तथ्याङ्कअनुसार हाल १७ वटा सरकारी तथा निजी स्वास्थ्य संस्थामा १९३ जनाको उपचार भइरहेको छ । तीमध्ये ३३ जना आईसीयूमा र ४ जना एचडीयूमा रहेका छन् । अहिलेसम्म ५०४ जना उपचारपछि डिस्चार्ज भएका छन् । भने, नारायणी अस्पतालमा मात्र १४ जना आईसीयूसहित ८३ जना भर्ना छन् । तराई अस्पतालमा २९ जना, नेशनल मेडिकल कलेज र प्रभु अस्पतालमा १०–१० जना, सर्वोत्तम अस्पतालमा ८ जना, मंगलम प्याथोलोजीमा ४ जना तथा अन्य संस्थामा समेत बिरामी उपचाररत रहेका छन् ।
स्वास्थ्यकर्मीहरूले पर्सामा फैलिएको हैजा अब छिमेकी बारा र पोखरीया उपमहानगरपालिकासम्म पुगेको पुष्टि गरेका छन् । अन्य जिल्लामा समेत झाडापखालाका बिरामी बढ्दै जाँदा प्रकोप अझ गम्भीर बन्दै गएको देखिन्छ । यद्यपि रोगको मूल स्रोत हालसम्म पत्ता लाग्न सकेको छैन । वीरगञ्जमा लामो समयदेखि वर्षा नपरी नालामा फोहोरपानी जमिरहेको छ । स्थानीय स्वास्थ्यकर्मीले यही नालामा जम्मा भएको दूषित पानीबाट हैजाको जीवाणु फैलिएको हुन सक्ने आशंका व्यक्त गरेका छन् । उनीहरूका अनुसार नालाको पानी जम्दा ब्याक्टेरिया बढ्ने र त्यही दूषित पानी विभिन्न माध्यमबाट खानपानमा मिसिँदा प्रकोप चुलिएको अनुमान गर्न सकिन्छ ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले हैजाको स्रोत पत्ता लगाउन कठिनाइ भइरहेको स्वीकार गर्दै नारायणी अस्पतालमा बढ्दो चापलाई व्यवस्थापन गर्न प्रदेश र संघीय सरकारबाट चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले रोग नियन्त्रणलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । उनका अनुसार रोग नियन्त्रणमा ढिलाइ भए ठूलो जनधनको क्षति हुनसक्छ ।
भिडियाे सामाग्री