काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले महानगर प्रहरीको काम हलिउड चलचित्रमा देखिने ‘सिटी पुलिस’ जस्तै लाग्ने बताउनुभएको छ ।
शनिबार काठमाडौंमा आयोजित ३३ औं महानगर प्रहरी दिवसको कार्यक्रममा उहाँले बाल्यकालमा हलिउड फिल्म हेर्दा सिटी पुलिसले गर्ने काम अहिले महानगर प्रहरीले वास्तविकतामा गरिरहेको अनुभव भएको बताउनुभयो । “फिल्ममा देखाइएको काम रियलमा हुनु खुशीको कुरा हो,” उहाँले भन्नुभयो ।
मेयर साहका अनुसार महानगर प्रहरीले सार्वजनिक सम्पत्ति संरक्षण, अतिक्रमण नियन्त्रण, सुशासन प्रवर्द्धन, सुव्यवस्था कायम र अनुगमनमा महत्वपूर्ण योगदान दिएको छ । उहाँले काठमाडौं महानगरपालिकाको कार्यशैली देशका धेरै स्थानीय तहले सिक्न खोजिरहेको र त्यसमा महानगर प्रहरीको ठूलो भूमिका रहेको पनि उल्लेख गर्नुभयो ।
“काठमाडौं महानगरपालिकालाई जसरी एउटा राजधानीको रुपमा चिनिन्छ, महानगर प्रहरी बल पनि काठमाडौंको पर्यायबाची पहिचानको रुपमा स्थापित भएको छ,” मेयर साहले भन्नुभयो । उहाँले महानगर प्रहरीको कर्मनिष्ठा र योगदान आगामी दिनमा अन्य सिटी प्रहरी र स्थानीय सरकारका लागि पनि सिकाइ बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भिडियाे सामाग्री